Birgunj News24
पत्रकार सुरेश बिडारी राष्ट्रिय आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित।

वीरगंजका सक्रिय पत्रकार सुरेश बिडारी  काठमाडौंमा सम्मानित भएका छन्। उनी प्रतिष्ठित ‘भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मानित भएका हुन । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आर्थिक सुशासन, सार्वजनिक सम्पत्तिको संरक्षण तथा भ्रष्टाचारविरुद्ध खोजमूलक पत्रकारितामार्फत पुर्‍याएको योगदानको कदर गर्दै बिडारीलाई यस वर्षको पुरस्कार प्रदान गरेको हो।काठमाडौँमा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ ले बिडारीलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका हुन्। स्वर्गीय उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी को स्मृतिमा स्थापना गरिएको यो पुरस्कार हरेक वर्ष उत्कृष्ट आर्थिक पत्रकारलाई प्रदान गरिन्छ।

बिडारीले खोज पत्रकारिता केन्द्र ९सीआईजे० नेपालका लागि तयार पारेको ‘लिजको नाममा अस्तव्यस्त भए वीरगञ्जका सार्वजनिक सम्पत्ति’ शीर्षकको खोज रिपोर्टले राष्ट्रियस्तरमा चर्चा पाएको थियो। उक्त सामग्रीमार्फत वीरगञ्जका सार्वजनिक जग्गा र ऐतिहासिक सम्पत्ति न्यून मूल्यमा लिजमा दिइँदा राज्यको सम्पत्तिमाथि भएको दुरुपयोग उजागर गरिएको थियो।

नाफिजका अनुसार आर्थिक पारदर्शिता, सुशासन र सार्वजनिक हितका विषयमा निरन्तर खोजमूलक समाचार प्रकाशन गर्दै आएको योगदानका आधारमा बिडारीलाई यस वर्षको पुरस्कारका लागि चयन गरिएको हो। बिडारीले स्थानीय सञ्चार क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका खेलेका छन्। हाल उनी सेतोपाटी डटकम मार्फत आर्थिक अनियमितता, भ्रष्टाचार र सार्वजनिक सरोकारका विषयमा खोज पत्रकारितालाई निरन्तरता दिँदै आएका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  २०:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update