Birgunj News24
हजारौं श्रद्धालुको सहभागितामा वीरगञ्जमा श्री गहवामाईको चौथो रथयात्रा भव्य र शान्तिपूर्ण रूपमा सम्पन्न।

वीरगञ्ज ३२ असार

वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो रथयात्रा बिहीबार श्रद्धा, भक्ति र उत्साहका साथ भव्य तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस रथयात्रामा यस वर्ष पनि हजारौं श्रद्धालु भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो।

बिहान मन्दिरमा विशेष पूजा–आराधनापछि सुरु भएको रथयात्रा घण्टाघर, रेलवे रोडको भित्री बाइपास, छपकैया, मुख्य सडक, अस्पताल रोड, मकालु चोक, आदर्शनगर हुँदै पुनः माईस्थान मन्दिर पुगेर समापन गरिएको थियो। सम्पूर्ण मार्गभर श्रद्धालुहरूले जयकारा, भजन–कीर्तन तथा धार्मिक उत्साहका साथ सहभागिता जनाएका थिए।

रथयात्रालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्कीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा ट्राफिक प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएका थिए। रथयात्रा मार्गभर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिनुका साथै सादा पोशाकमा समेत प्रहरी खटाइएको थियो। कुनै अप्रिय घटना हुन नदिन सम्पूर्ण मार्गमा कडा सुरक्षा निगरानी राखिएको थियो भने ट्राफिक व्यवस्थापनलाई सहज बनाउन विभिन्न स्थानमा वैकल्पिक मार्गसमेत सञ्चालन गरिएको थियो।

रथयात्रामा सहभागी हुन बिहानैदेखि बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका श्रद्धालुहरू मन्दिर परिसरमा भेला भएका थिए। रथयात्रा सुरु हुनुअघि वर्षा भए पनि त्यसले भक्तजनको आस्था र उत्साहमा कुनै कमी ल्याउन सकेन। मुख्य सडक विस्तारका क्रममा केही स्थानमा संरचना हटाइएका कारण सामान्य असहजता देखिए पनि श्रद्धालुहरू भक्तिभावका साथ रथयात्रामा सहभागी बनेका थिए।

रथयात्रा सम्पन्न भएपछि आयोजक समितिका सचिव पप्पु गुप्ताले आज साँझ ६:०० बजेदेखि आयोजना हुने भव्य भजन सन्ध्यामा सहभागी भई माता गहवामाईको दर्शन गरी पुण्य लाभ लिन सम्पूर्ण श्रद्धालुमा आग्रह गर्नुभयो।रथ यात्रामा पर्साका सिडियो सहित माननिय सभासद सुशील साह कानु,युवा नेता सुधिर पटेल लगाएतका भक्तजनहरु हजारौंको संख्यामा उपस्थिति रहेका थिए।

त्यसैगरी, विश्व ज्योतिष महासङ्घका एसिया उपसभापति डा. पुरुषोत्तम दुबेले श्रावण १ गते बिहान ६:०० बजेदेखि हुने ५६ भोग महापूजा तथा दिउँसो ४:०० बजेदेखि सुरु हुने विशाल महाप्रसाद भण्डाराको विशेष धार्मिक महत्त्व रहेको बताउनुभयो। उहाँले महाप्रसाद ग्रहण गर्नु भनेको माता रानीको असीम कृपा र अमृतस्वरूप प्रसाद प्राप्त गर्नु सरह भएको विश्वास व्यक्त गर्दै यसले आत्मा र शरीर दुवैलाई पवित्र बनाउने धार्मिक मान्यता रहेको उल्लेख गर्नुभयो।

डा. दुबेले लाखौं श्रद्धालु सहभागी हुने महापूजा र विशाल महाप्रसाद भण्डारालाई सभ्य, मर्यादित, शान्तिपूर्ण र सुव्यवस्थित बनाउन सम्पूर्ण नगरवासी, भक्तजन तथा स्वयंसेवकहरूलाई सक्रिय सहयोग गर्न आह्वान गर्नुभएको छ।

यस वर्षको रथयात्रा धार्मिक आस्था, सामाजिक सद्भाव, अनुशासन र उत्कृष्ट सुरक्षा व्यवस्थाको उदाहरणका रूपमा सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  १६:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update