वीरगञ्ज, साउन ३१ – पर्सामा सशस्त्र प्रहरी बलले विशेष सूचनाको आधारमा गरेको छापामारीमा भारतबाट भन्सार छली गरी ल्याइएका करिब ३ लाख ५० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१६, फुलबारी टोलस्थित उषा अधिकारीको तीनतले पक्की घरमा अवैध सामान भण्डारण गरिएको सूचनापछि सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको कमाण्डमा खटिएको टोलीले वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिसहित संयुक्त रूपमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरका ११ वटा कोठाबाट २,८४८ मिटर टेबल पोस (टेन्ट टेबलका लागि प्रयोग हुने कटन कपडा), १३ पिस रेडिमेड टेबल पोस तथा ३५ प्याकेट एयर कन्डिसनर स्ट्यान्ड बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामानको अनुमानित मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ। उक्त सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।
यसैबीच, सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जबाट खटिएको गाडी मोबाइल टोलीले अघिल्लो राति वीरगञ्ज महानगरपालिका–१६, भन्सार टोल क्षेत्रमा भारततर्फ अवैध रूपमा लैजाने तयारी गरिएको ३३ कार्टुन (६२० किलोग्राम) स्याउ पनि बरामद गरेको छ। बरामद स्याउको अनुमानित मूल्य ६३ हजार ५०० रुपैयाँ रहेको छ।
सशस्त्र प्रहरीले बरामद गरेको स्याउ आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइसकेको जनाएको छ।


