वीरगञ्ज, असार ३० — सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले विशेष सूचनाको आधारमा गरेको संयुक्त छापामारी अभियानमा करिब रु. ३ लाख बराबरको अवैध कपडा बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार आइतबार दिउँसो १२:४५ बजे वीरगञ्ज महानगरपालिका–१, छपकैया सुकुम्बासी टोलमा भारतबाट भन्सार छली गरी ल्याइएका कपडाहरू विभिन्न घरमा लुकाइराखिएको सूचनाका आधारमा छापामारी गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको टोली, इलाका प्रहरी कार्यालय छपकैयाको प्रहरी टोली तथा वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले १० वटा गोठ र ११ वटा फुसका घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा मेलु साह तुराहाको घरभित्र पलङको प्लाइमुनी लुकाइराखिएको अवस्थामा ४ पोका सुटिङ तथा थानका कपडा र गोठमा भुसभित्र लुकाइएको अवस्थामा १ पोका कुर्ता–सुरुवालका कपडा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद भएका ५ पोकाको अनुमानित मूल्य रु. ३ लाख रहेको जनाइएको छ। बरामद कपडाहरू आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।


