Birgunj News24
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त।

काठमाडौं, असार ३०।
सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार श्रेष्ठलाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरिएको हो।
नवनियुक्त अध्यक्ष श्रेष्ठले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्।
नियुक्तिपत्र हस्तान्तरण कार्यक्रममा मन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएर जिम्मेवारीमा आएका श्रेष्ठप्रति उच्च अपेक्षा रहेको बताए। उनले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) वर्तमान सञ्चार क्षेत्रका प्रमुख चुनौती भएको बताए। त्यसको पहिचान र नियन्त्रणका लागि प्रभावकारी पहल आवश्यक रहेको उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकलाई अघि बढाउने प्रक्रिया जारी रहेको जानकारी दिँदै सञ्चार क्षेत्रलाई समयानुकूल बनाउन कानुनी सुधार आवश्यक रहेको बताए।
नवनियुक्त अध्यक्ष श्रेष्ठले सञ्चार माध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन समयसापेक्ष बन्न नसकेको उल्लेख गर्दै त्यसमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, स्वनियमन प्रणालीको सुदृढीकरण तथा प्रेस स्वतन्त्रताको संरक्षणलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले सरकार र सञ्चार क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्दै जिम्मेवार र व्यावसायिक पत्रकारिताको प्रवर्द्धनमा प्रेस काउन्सिल सक्रिय रहने बताए।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  १०:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update