वीरगञ्ज, असार २९
पर्साको जगरनाथपुर गाउँपालिका–१ का एक असहाय दलित परिवारलाई छोरीको विवाहमा केही राहत पुग्ने उद्देश्यले समाजसेवी बृजेश्वर प्रसाद चौधरीले खाद्यान्न सामग्री तथा नगद सहयोग प्रदान गरेका छन्।
चौधरीले एक बोरा चामल, दुई बोरा चिउरा, आवश्यक मसला तथा नगद रु. ३ हजारसहित करिब रु. ७ हजार बराबरको सहयोग उपलब्ध गराएका हुन्।
सहयोग प्रदान गर्दै उनले आर्थिक अभावका कारण कठिनाइमा परेका परिवारलाई सबैले आफ्नो क्षमता अनुसार साथ र सहयोग गर्नुपर्ने बताए। समाजमा रहेका असहाय, विपन्न तथा पीडित परिवारप्रति मानवीय भावना राखी सहयोग गर्न सबैलाई आग्रह गर्दै उनले “सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने सन्देशसमेत दिएका छन्।
समाजसेवी चौधरीले यसअघि पनि विभिन्न असहाय, विपन्न तथा पीडित परिवारलाई निरन्तर सहयोग गर्दै आइरहेको स्थानीयले बताएका छन्।


