मकवानपुर, असार २९ — मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिकको कर्रा खोलामा आएको बाढीले आइतबार बिहान एउटा खाली ट्रक बगाएको छ।
प्रहरीका अनुसार बिहान करिब ७:४५ बजे खोलामा पानीको बहाव अचानक बढ्दा ह्युम पाइप राखेर बनाइएको कल्भर्ट (लच्का) माथिबाट सिमेन्ट फ्याक्ट्रीमा ढुंगा अनलोड गरी फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक चालकसहित बगेको हो।
ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी करिब ३४ वर्षीय दीपक थिङ पौडिएर आफैं खोलाबाट बाहिर निस्कन सफल भएका छन्। उनको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट हटिया तथा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते चालकलाई उपचारका लागि चौघडास्थित राजु मेडिकल पठाइएको छ।
घटनामा अन्य कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बाढीले बगाएको ट्रक भने खोलामै रहेको र त्यसलाई निकाल्ने प्रयास भइरहेको छ।


