वीरगंज महानगरपालिका वडा नं. ३१ सोलखपुरमा नवनिर्मित आधुनिक छठीघाटको आज एक भव्य समारोहका बीच समुद्घाटन सम्पन्न भएको छ। वडा कार्यालय वीरगंज-३१ को विनियोजित रकम तथा वीरगंज महानगरपालिकाको थप नगर स्तरीय बजेटको संयुक्त लगानीमा निर्माण कार्य सम्पन्न भएको उक्त छठीघाटको उद्घाटन गरिएको हो।
छठीघाट व्यवस्थापन समिति तथा सोलखपुर गाउँवासीको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम रहनुभएको थियो। प्रमुख अतिथि आलमले विधिवत रूपमा रिबन काटी तथा नव-निर्मित छठीघाटको शिलालेख अनावरण गरेर घाटको उद्घाटन गर्नुभएको हो।
उक्त उद्घाटन कार्यक्रम वडा नं. ३१ का वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवको अध्यक्षतामा सु-सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्यवाहक मेयर इम्तियाज आलमले महानगरपालिका भित्रका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरूको संरक्षण र विकासका लागि महानगर सधैं प्रतिबद्ध रहेको कुरा व्यक्त गर्नुभयो। उहाँले स्थानीय स्तरमा उपभोक्ता समिति र वडा कार्यालयको सक्रियताका कारण नै समयमै गुणस्तरीय निर्माण कार्य सम्भव भएको भन्दै खुशी व्यक्त गर्नुभयो।
त्यसैगरी, कार्यक्रमका अध्यक्ष एवं वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवले वडाको बजेट तथा महानगरको थप सहयोगले सोलखपुरबासीको लामो समयदेखिको योजना साकार भएको बताउनुभयो। उहाँले आगामी दिनहरूमा पनि वडाका अन्य विकास निर्माणका कार्यहरूलाई तीव्रता दिइने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, बुद्धिजीवी तथा ठूलो संख्यामा स्थानीय सर्वसाधारणहरूको उत्साहजनक उपस्थिति रहेको थियो।


