Birgunj News24
प्रसौनी बिर्तामा सडक तथा नाला निर्माणको शिलान्यास, विकासमा पूर्वाधार पहिलो प्राथमिकता स् बिचारी यादव।

वीरगञ्ज। संविधानसभा सदस्य एवं नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले सडक विकास नै समग्र विकासको मेरुदण्ड भएकाले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्।

बुधबार वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तामा ब्रम्हबाबा मन्दिरदेखि सातोमाई मन्दिर हुँदै मेघराज पासवानको घर र सोहन हजराको घरसम्म निर्माण हुन लागेको सडक ढलान तथा नाला निर्माण योजनाको शिलान्यास गर्दै यादवले सो कुरा बताएका हुन्।

उनले वर्षौंदेखि आधारभूत पूर्वाधारबाट वञ्चित रहेको उक्त बस्तीमा सडक तथा नाला निर्माण भएपछि स्थानीयको आवतजावत सहज हुनुका साथै वर्षायाममा हुने जलजमावको समस्या पनि समाधान हुने विश्वास व्यक्त गरे। उनले यो आयोजना क्षेत्रको समग्र विकासका लागि कोसेढुंगा सावित हुने बताए।

यादवका अनुसार पूर्वाधार विकास कार्यालयमार्फत करिब ३५० मिटर लामो र १० फिट चौडा सडक ढलान तथा नाला निर्माणको काम अघि बढाइएको हो। निर्माण कार्यलाई निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकाय र निर्माण व्यवसायीलाई उनले निर्देशनसमेत दिए।

लामो समयदेखि सडक र नालाको अभाव झेल्दै आएका स्थानीयवासीले निर्माण कार्य सुरु भएपछि खुसी व्यक्त गरेका छन्। उनीहरूले निर्धारित समयमै योजना सम्पन्न भई आवागमन र दैनिक जीवन सहज हुने अपेक्षा गरेका छन्।

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  १४:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update