Birgunj News24
वीरगञ्जमा दुईदिने पर्सा चेस च्याम्पियनसिप सुरु, करिब १०० खेलाडीको सहभागिता।

वीरगञ्ज, असार २०

युथलिङ्क वीरगञ्जको आयोजना तथा पर्सा जिल्ला बुद्धीचाल संघको सहकार्यमा दुईदिने पर्सा चेस च्याम्पियनसिप शनिबारदेखि वीरगञ्जस्थित बीपीसी कलेजको सभाहलमा सुरु भएको छ। प्रतियोगितामा जिल्लाभरबाट करिब १०० जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन समारोह पर्सा जिल्ला बुद्धीचाल संघका अध्यक्ष शुल्भ केसीको प्रमुख आतिथ्य तथा युथलिङ्क वीरगञ्जका अध्यक्ष अभिषेक सरार्फको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको शुभारम्भ अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए।

उद्घाटन कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, सञ्चारकर्मी अभिलाष गुप्ता, सन्तोष कुशवाहा, युथलिङ्क वीरगञ्जका उपाध्यक्ष रोशनकुमार सोनार, बीपीसी कलेजका निर्देशक डा. अर्बिन्द श्रेष्ठ, बासु कर्णलगायतको विशेष उपस्थिति रहेको थियो।

प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर सौगात गिरी तथा प्रमुख निर्णायक (चिफ आर्बिटर) मिसन बास्कोटा रहेका छन्। प्रतियोगिता स्विस लिग प्रणालीअनुसार कुल सात चरण (राउन्ड) मा सञ्चालन हुने जनाइएको छ। पहिलो दिन चार राउन्ड तथा दोस्रो दिन तीन राउन्डका खेल सम्पन्न भएपछि प्रतियोगिताको समापन गरिनेछ।

आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य पर्सा जिल्लामा बुद्धीचाल खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नु हो। प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आगामी प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि समेत प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।

उद्घाटन समारोहमा वक्ताहरूले बुद्धीचाल खेलले विद्यार्थी तथा युवाहरूमा तार्किक सोच, निर्णय क्षमता, धैर्यता र एकाग्रता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले जिल्लामा खेल संस्कृतिको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित मिति: शनिबार, असार २०, २०८३  २०:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update