Birgunj News24
पोखरिया र बिन्दवासिनीमा स्वास्थ्य कार्यालयको अनुगमन : अधिकांश बालबालिका नियमित खोपको पहुँचमा।

वीरगन्ज,१८असारः जन्मेदेखि १५ महिनासम्म उमेर समुहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार समयमै नियमित खोप पाए–नपाएको सुनिश्चित गर्न स्वास्थ्य कार्यालय पर्साले पोखरिया नगरपालिका र बिन्दवासिनी गाउँपालिकामा घरदैलो गर्दै छड्के अनुगमन गरेको छ।

नियमित खोप कार्यक्रमको प्रभावकारिता, अभिलेख व्यवस्थापन र समुदायस्तरमा खोपप्रतिको सचेतनाको अवस्था मूल्यांकन गर्ने उद्देश्यले गरिएको अनुगमनका क्रममा ती दुवै पालिकामा अधिकांश बालबालिकाले निर्धारित समयमै आवश्यक सबै खोप प्राप्त गरेको पाइएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार, नियमित खोप कार्यक्रम समग्रमा सन्तोषजनक र प्रभावकारी देखिएको छ। अभिभावकहरूमा बालबालिकाको स्वास्थ्यप्रति सकारात्मक चासो र खोपप्रतिको सचेतना बढेको पाइएको उनले बताए। अनुगमनका क्रममा केही स्थानमा देखिएका सामान्य व्यवस्थापकीय कमजोरी सुधारका लागि आवश्यक सुझाव तथा निर्देशनसमेत दिइएको उनको भनाइ छ।

अनुगमन टोलीले विभिन्न खोप केन्द्रको निरीक्षण गर्नुका साथै घरदैलोमै पुगेर अभिभावकसँग प्रत्यक्ष संवाद गरेको थियो। टोलीले खोपको महत्व, छुटेका बालबालिकाको पहिचान, समयमै खोप केन्द्रमा उपस्थित गराउने व्यवस्था तथा नियमित खोपको निरन्तरताबारे जानकारीसमेत दिएको थियो।

स्वास्थ्य कार्यालय पर्साकी जनस्वास्थ्य अधिकृत शबनम कार्कीका अनुसार, ती दुवै पालिकामा अधिकांश बालबालिकाले नियमित खोप पूरा गरिसकेको पुष्टि भएपनि केही परिवारमा खोप कार्ड हराएको वा सुरक्षित रूपमा संरक्षण नगरिएको अवस्था भेटिएको छ। उनले खोप कार्ड बालबालिकाको स्वास्थ्य अभिलेखको महत्वपूर्ण दस्तावेज भएकाले सुरक्षित राख्न अभिभावकलाई आग्रह गरिन्। कार्ड हराएको अवस्थामा सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गरी अभिलेख अद्यावधिक गर्न पनि उनले सुझाव दिइन्।

कार्कीले घरदैलो अनुगमनले छुटेका बालबालिकाको पहिचान, खोप सेवाको गुणस्तर मूल्यांकन तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिइन्।

अनुगमन टोलीमा स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुर, शबनम कार्की, पूजा चौहान, नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य राहुल गुप्तालगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  १५:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update