Birgunj News24
वीरगञ्ज । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष।

२०८३/०८४ का लागि करीब साढे ४ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

महानगरको बुधवार सम्पन्न २० औं नगरसभामा शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, पर्यटन, उद्योग तथा गुणस्तरीय भौतिक पूर्वाधार र प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरिएको हो ।

महानगरपालिकाले कुल ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमको तर्फबाट नगर कार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षका लागि आय–व्यय विवरण पेश गरेका हुन् ।

आगामी बजेटमा चालु खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ६९ हजार (कूल बजेटको ५४.३ प्रतिशत), पूँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार (४४.६ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ (१.१ प्रतिशत) विनियोजन गरिएको छ ।

महानगरले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अन्तरसरकारी वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट, आन्तरिक राजस्व, घरजग्गा रजिस्ट्रेसन शुल्क, गत वर्षको मौज्दात तथा नगर विकास कोषको योगदानलाई बजेटको स्रोत मानेको छ ।

संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार र प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार आउने अनुमान छ । प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार, घरजग्गा रजिस्ट्रेसन शुल्कबाट ४५ करोड, गत वर्षको मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार र नगर विकास कोषबाट १५ करोड रुपैयाँ व्यहोरिने बजेटमा उल्लेख छ ।

यो बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै १ अर्ब १९ करोड रुपैयाँ बढी हो । चालु आर्थिक वर्षका लागि महानगरले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

आगामी आवको बजेटले महानगरको विकास प्राथमिकता विस्तार गर्दै सेवा प्रवाह र पूर्वाधार सुदृढीकरणलाई मुख्य लक्ष्य लिएको छ ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  २२:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update