Birgunj News24
गौतम माध्यमिक विद्यालयमा विद्यार्थी उपलब्धि सम्मान समारोह सम्पन्न।

वीरगञ्ज, असार १०,अभिलाष गुप्ता 

वीरगञ्जस्थित गौतम माध्यमिक विद्यालयमा गत शैक्षिक वर्षमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका प्रतिभाशाली विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित ‘विद्यार्थी उपलब्धि सम्मान समारोह’ हर्षोल्लासका साथ सम्पन्न भएको छ।

विद्यालयले शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको हो। सम्मानित विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्दै आगामी दिनमा पनि निरन्तर मेहनत र अनुशासनका साथ अध्ययनमा लाग्न प्रेरित गरिएको थियो।

समारोहको अध्यक्षता विद्यालयकी म्यानेजिङ डाइरेक्टर परीक्षा पिया लामाले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा यस बिधालयका पुर्व विद्यार्थी हाल नारायणी अस्पतालका  डा. सफ्रोज अन्सारी तथा विशेष अतिथिका रूपमा सोनम लामाको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले विद्यार्थीहरूको लगनशीलता, मेहनत, अनुशासन तथा निरन्तर प्रयासको प्रशंसा गर्दै यस्ता उपलब्धिले विद्यालय, अभिभावक र समाजलाई गर्वान्वित बनाउने बताउनुभयो। उहाँहरूले विद्यार्थीहरूलाई आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो लक्ष्यतर्फ निरन्तर अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो।

विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीले विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा जोड दिँदै आएको उल्लेख गर्नुभयो। उहाँले सम्मान कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक भावना विकास हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका रमेश शर्मा, ललित कर्ण, सौराज प्रधान, सिपेन्द्र गुप्ता लगायत शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहमा सम्मानित विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै विद्यालय परिवारले सबै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको थियो। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १५:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update