Birgunj News24
ट्राफिक सप्ताह शुभारम्भ, सडक अनुशासन र दुर्घटना न्यूनीकरणमा जनचेतना फैलाइँदै।

अभिलाष गुप्ता
वीरगञ्ज, असार ३

सडक अनुशासनको पालना गराउने तथा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पर्सामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८३’ बुधबारदेखि सुरु भएको छ। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, जिल्ला प्रहरी कार्यालय पर्सा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्जको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरिएको हो।

असार ३ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन समारोहमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेत,वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख बिक्रम सुबेदी,सशस्त्र प्रहरी बल नं. १३ गणका डीएसपी, नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईं तथा ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमअन्तर्गत आयोजित जनचेतनामूलक र्‍याली वीरगञ्जको घण्टाघरबाट सुरु भई लिंक रोड, बसपार्क, भानुचोक हुँदै पुनः घण्टाघर पुगेर सम्पन्न भएको थियो। र्‍यालीमा सहभागीहरूले ट्राफिक नियम पालना, सुरक्षित यात्रा र दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देश लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका थिए।

र्‍यालीमा नेपाल स्काउटका सदस्यहरू तथा वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले ट्राफिक नियमको पालना, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग, मदिरा सेवन गरी सवारी नचलाउने तथा पैदलयात्रीको सुरक्षालाई प्राथमिकता दिनुपर्ने सन्देश प्रवाह गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख युवराज कटवालले सडक सुरक्षामा ट्राफिक प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै चालक, यात्रु, पैदलयात्री तथा सम्पूर्ण नागरिकको साझा जिम्मेवारी आवश्यक रहेको बताए। उनीहरूले ट्राफिक नियमको पूर्ण पालना भएमा अधिकांश दुर्घटनालाई रोक्न सकिने धारणा व्यक्त गरे।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको व्यवस्थापनमा वरिष्ठ प्रहरी सहायक निरीक्षक (सई) अर्जुनप्रसाद सोडारीसहित ट्राफिक प्रहरीका जवानहरूको सक्रिय भूमिका रहेको थियो।

आयोजकका अनुसार सप्ताहभर विभिन्न विद्यालय, सार्वजनिक स्थल तथा सवारी चालक लक्षित सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, पर्चा वितरण तथा ट्राफिक नियमसम्बन्धी अभियान सञ्चालन गरिनेछ। कार्यक्रममार्फत सडक सुरक्षाप्रति नागरिकमा जिम्मेवारीबोध अभिवृद्धि गर्दै दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  ०९:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update