वीरगञ्ज, पर्सा असाढ ०२ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निलम्बन भएको एक साताभित्रै महानगरपालिकाका कर्मचारीहरूले लामो समयदेखि रोकिएको तलब पाउन थालेका छन्। निमित्त नगरप्रमुखको जिम्मेवारी सम्हालेका उपप्रमुख इम्तियाज आलमको पहलमा कर्मचारीहरूको तलब निकासा प्रक्रिया अघि बढाइएको हो।
महानगरपालिकाको आर्थिक प्रशासन महाशाखाका अनुसार पहिलो चरणमा ४६७ जना कर्मचारीलाई ५ करोड ५५ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम तलबस्वरूप वितरण गरिएको छ।
लेखा अधिकृत रुपनारायण राउतका अनुसार ५९ जना निजामती कर्मचारी, १४२ जना स्थायी सेवा कर्मचारी तथा १३३ जना सरसफाइ कर्मचारीलाई तीन महिनाको तलब निकासा गरिएको छ। त्यस्तै १२० जना करार सेवाका कर्मचारी र १३ जना करारका सवारी चालकलाई चार महिनाको तलब भुक्तानी गरिएको छ।
राउतले बाँकी रहेका ६८४ जना कर्मचारीहरूको खातामा समेत आज–भोलिभित्र तलब रकम जम्मा हुने जानकारी दिनुभयो। पाँच महिनादेखि तलब नपाएका कर्मचारीलाई चार महिनाको तथा चार महिनादेखि तलब रोकिएकाहरूलाई तीन महिनाको तलब पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो।
महानगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूको चार महिनादेखि तथा करारका कर्मचारीहरूको पाँच महिनादेखि तलब रोकिएको थियो। पहिलो चरणमा स्थायी कर्मचारीलाई तीन महिनाको र करार कर्मचारीलाई चार महिनाको तलब भुक्तानी गरिएको हो।
महानगरपालिकाले मासिक रूपमा १ हजार १५१ जना कर्मचारीलाई तलबबापत करिब ३ करोड ७६ लाख रुपैयाँ खर्च गर्दै आएको छ।
यता महानगर क्षेत्रको सरसफाइ तथा फोहर व्यवस्थापनको जिम्मेवारी पाएको निजी साझेदार एनके इन्टरनेशनल प्रा.लि. को समेत पाँच महिनादेखिको भुक्तानी बाँकी रहेको स्रोतले जनाएको छ। महानगरपालिकाले तत्काल सम्पूर्ण रकम भुक्तानी गर्न नसक्ने अवस्था रहेकाले दुईदेखि तीन महिनाको बक्यौता रकम तत्काल भुक्तानी गर्न कार्यबाहक नगरप्रमुख आलमले निर्देशन दिएको स्रोतको दाबी छ।
स्रोतका अनुसार नगरप्रमुखको कुप्रबन्धन तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवासम्बन्धी विवादका कारण कर्मचारीहरूले लामो समयसम्म तलब पाउन सकेका थिएनन्। तर राहतको अनुभूति भएको बताइएको छ।


