वीरगञ्ज, असार २ — सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साले विभिन्न स्थानमा सञ्चालन गरेको विशेष निगरानी तथा छापामारी अभियानका क्रममा ११ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा सवारी साधन नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इनर्वा सीमा क्षेत्रमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरिएको सामान बोकेको मधेश प्रदेश ०३–००१ ह १९२२ नम्बरको ई–रिक्सा नियन्त्रणमा लिइएको छ। उक्त ई–रिक्सामा लोड गरिएको ४० हजार ८ सय रुपैयाँ बराबरको अगरबत्ती बनाउने कच्चा पदार्थ, २७ हजार ५ सय रुपैयाँ बराबरको केरा, ४५ हजार रुपैयाँ बराबरको माछा तथा ४ लाख रुपैयाँ मूल्य बराबरको ई–रिक्सा बरामद गरिएको हो। प्रहरी टोली पुगेपछि चालक फरार भएका थिए। बरामद सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।त्यसैगरी, गण मुख्यालयबाट खटिएको अर्को टोलीले वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोकबाट १ लाख ३० हजार ३४० रुपैयाँ बराबरका चिसो पेय पदार्थ तथा मोटरसाइकल नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको जनाएको छ।यसैबीच, विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म वीरगञ्ज, प्रस्तावित औद्योगिक सुरक्षा बेस जितपुर तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१० नितनपुर चोकस्थित एक गोदाममा छापा मारेको थियो। छापाका क्रममा भन्सार छली गरी लुकाइछिपाइ राखिएको ३ लाख २५ हजार रुपैयाँ बराबरको खजुर, अफजल मिन्ट टोबाको तथा गाडीको बर्नेट बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।उक्त गोदामको खानतलासीका क्रममा पछाडिको कोठाबाट करिब १०० लिटर घरेलु मदिरासमेत फेला परेको थियो। अन्दाजी ३ हजार रुपैयाँ बराबरको उक्त मदिरा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय जितपुरलाई बुझाइएको छ।त्यसैगरी, सीमा सुरक्षा गुल्म लहावरथकरीबाट खटिएको टोलीले पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वा बजार क्षेत्रबाट १३ हजार २५० रुपैयाँ बराबरका किराना तथा विद्युतीय सामग्री र १ लाख २५ हजार रुपैयाँ बराबरको मोटरसाइकल नियन्त्रणमा लिएको छ। सोही क्षेत्रमा बीओपी भिस्वाबाट खटिएको टोलीले ३४ हजार २६० रुपैयाँ बराबरका औषधि तथा इलेक्ट्रोनिक सामग्री बरामद गरेको जनाएको छ।सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले सीमा क्षेत्रमा हुने अवैध तस्करी तथा भन्सार छली नियन्त्रणका लागि निगरानीलाई थप प्रभावकारी बनाइएको जानकारी दिए। उनले यस्ता गतिविधिविरुद्ध अभियान निरन्तर जारी रहने बताए।


