लालबाबु सिंह ३० जेष्ठ बिरगंज ।
नेपाल प्रौढ संघ पर्सा द्वारा बिरगंज १६ मा ज्येष्ठ नागरिकहरूको सेवा, संरक्षण तथा सम्मानका लागि स्थापना गरिएको वृद्ध सेवा आश्रमको एक विशेष समारोहबीच प्रमुख अतिथि मधेश प्रदेशका पुर्व उपमुख्यमन्त्री एवं वर्तमान प्रदेश सान्सद लालबाबु राउतले उद्घाटन गरेकाछन । राउतले आश्रमको औपचारिक उद्घाटन गर्दै समाजमा वृद्धवृद्धाप्रति सम्मान र जिम्मेवारीको भावना अझ सुदृढ हुनुपर्ने बताए।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि राउतले वृद्धवृद्धाहरू समाजका अनुभव र ज्ञानका भण्डार भएको उल्लेख गर्दै उनीहरूको उचित हेरचाह र संरक्षण सबैको साझा दायित्व रहेको बताए। उनले आश्रम सञ्चालनले असहाय तथा अभिभावकविहीन ज्येष्ठ नागरिकहरूलाई राहत पुग्ने विश्वास व्यक्त गरे।
नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्द राउत अहिरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार शर्माले स्वागत मन्तव्य र सल्लाहकार प्रकाश उपाध्यायले संघको ईतिहास एवं कार्यहरु बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा विभिन्न सामाजिक अगुवा, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आश्रम व्यवस्थापन समितिले संस्थाको उद्देश्य, भावी योजना तथा वृद्धवृद्धाहरूलाई प्रदान गरिने सेवा–सुविधाबारे जानकारी गराएको थियो।
समारोहमा नवगठित व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूको परिचय गराइएको थियो। उपस्थित अतिथिहरूले आश्रमको सफल सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा आश्रम स्थापना तथा सञ्चालनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो। वृद्ध सेवा आश्रमले वीरगञ्ज तथा आसपास क्षेत्रका ज्येष्ठ नागरिकहरूको सेवा, संरक्षण र हेरचाहमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


