Birgunj News24
फिफा विश्वकपको २३औं संस्करण आजदेखि सुरु।

काठमाडौं । विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप फुटबलको २३औं संस्करण नेपाली समयअनुसार शुक्रबार बिहानदेखि सुरु हुने भएको छ ।

यसपटकको विश्वकप इतिहासमै पहिलोपटक तीन देश—अमेरिका, मेक्सिको र क्यानडा—ले संयुक्त रूपमा आयोजना गरेका छन् । प्रतियोगिताको उद्घाटन नेपाली समयअनुसार आज राति १२ः४५ बजे हुने फिफाले जनाएको छ ।

आयोजक देशहरूमा अलग–अलग उद्घाटन समारोह हुनेछन् । मेक्सिको सिटी, क्यानाडाको टोरन्टो र अमेरिकाको लस एन्जलसमा कार्यक्रम आयोजना गरिनेछ, जहाँ क्याटी पेरी, फुचुरे, अनित्ता, लिसा, रेमा र टाइलाजस्ता कलाकारले प्रस्तुति दिनेछन् । करिब ९० मिनेट लामो उद्घाटन समारोहले प्रतियोगिताको भव्यता प्रदर्शन गर्ने बताइएको छ ।

उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । यस संस्करणमा पहिलोपटक ४८ राष्ट्रले सहभागिता जनाएका छन् भने फाइनलसहित कुल १०४ खेलहरू हुनेछन् ।

फिफाले यसपटक विश्वकपको कुल पुरस्कार राशि ६५ करोड ५० लाख अमेरिकी डलर पुर्‍याएको छ, जसअनुसार विजेताले ५ करोड डलर प्राप्त गर्नेछन् ।

उपाधि दाबेदारका रूपमा ब्राजिल, अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन र नेदरल्यान्ड्सलाई हेरिएको छ । ब्राजिलले हालसम्म सर्वाधिक ५ पटक विश्वकप जितेको छ भने इटली र जर्मनीले ४–४ पटक उपाधि जितेका छन् ।

यस्तै अर्जेन्टिनाले ३ पटक, उरुग्वेले २ पटक, फ्रान्सले २ पटक तथा इंग्ल्याण्ड र स्पेनले १–१ पटक विश्वकप जितेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  २१:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update