Birgunj News24
सिरहामा जफत मोबाइल नष्ट प्रकरण : सर्वोच्चद्वारा अन्तरिम आदेश जारी।

काठमाडौं । सिरहामा एसईई र कक्षा १२ परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल र स्मार्ट वाच नष्ट गरिएको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बुधबार परीक्षा हलमा भेटिएका मोबाइल तथा त्यससँग सम्बन्धित डाटा जफत गरी नष्ट गर्ने कार्य नगर्नू–नगराउनू भनी गृह मन्त्रालयका नाममा आदेश दिएको हो । साथै अदालतले यस विषयमा लिखित जवाफ पेस गर्न विपक्षीलाई निर्देशन दिएको छ ।

अधिवक्ता अनिलकुमार साहसहितले दायर गरेको रिटमा परीक्षा सकिएपछि जरिवाना लिएर वा अभिभावकको रोहबरमा मोबाइल फिर्ता गर्नुपर्नेमा स्वेच्छाचारी रूपमा नष्ट गरिएको दाबी गरिएको छ ।

गत चैतमा सम्पन्न एसईई परीक्षाका क्रममा सिरहाका विभिन्न केन्द्रबाट आइफोन, एन्ड्रोइड मोबाइल तथा स्मार्ट वाचसहित करिब ५ सयभन्दा बढी उपकरण जफत गरिएको थियो । जिल्ला परीक्षा समन्वय समितिको निर्णय र मधेश प्रदेशका शिक्षामन्त्रीको घोषणापछि ती उपकरणहरू पानी भरिएको ड्रममा डुबाएर नष्ट गरिएको भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो ।

रिटमा जफत गरिएका मोबाइल र घडीको बजार मूल्य तथा व्यक्तिगत डाटाको क्षतिका आधारमा विद्यार्थी र अभिभावकलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  २१:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update