२७ जेठ, वीरगञ्ज । सरकारी सूचना तथा विज्ञापन वितरणमा देखिएको विभेदकारी र स्वेच्छाचारी निर्णयको विरोधमा पर्साका सञ्चारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय पर्साअगाडि एक घण्टा धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा बिहान ११ बजेदेखि १२ बजेसम्म भएको धर्नापछि सञ्चारकर्मीहरूले सरकारको हालको नीति प्रेस स्वतन्त्रताविरुद्ध रहेको आरोप लगाएका हुन्।
सञ्चारकर्मीहरूले सरकारी सूचना तथा विज्ञापन वितरणमा समान व्यवहार नभएको भन्दै तत्काल नीति सच्याउन सरकारसँग माग गरेका छन्। उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संविधानद्वारा प्रत्याभूत मौलिक अधिकार भएकाले त्यसमा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले सरकारी सञ्चारमाध्यमलाई मात्र विज्ञापन दिने निर्णयविरुद्ध आन्दोलन जारी रहने बताए। उनले सरकार निर्णय सच्याउन तयार नभएसम्म संघर्ष निरन्तर रहने चेतावनी दिए।
त्यसैगरी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सरकार निरंकुशतातर्फ उन्मुख भएको आरोप लगाए। उनले २०६० सालमा तत्कालीन राजाले मिडियालाई पहिलो निशाना बनाएको स्मरण गर्दै अहिलेको सरकारले पनि त्यही प्रवृत्ति दोहोर्याउने प्रयास गरेको टिप्पणी गरे।
धर्नामा प्रेस सेन्टर नेपाल पर्सा, प्रेस चौतारी पर्सा, समाजवादी प्रेस संगठन मधेश तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सूचना तथा विज्ञापन वितरणमा देखिएको विभेद अन्त्य गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न र सञ्चारमाध्यमप्रति समान व्यवहार गर्न सरकारसँग माग गरेका छन्।


