वीरगञ्ज– सिरहामा एसईई र कक्षा–१२ परीक्षाका क्रममा जफत गरिएका करिब एक करोड रुपैयाँ बराबरका मोबाइल फोन र स्मार्ट घडीहरू नष्ट गरिएको घटनाविरुद्ध विद्यार्थी सङ्गठनहरू आन्दोलनमा उत्रिएका छन्।
जिल्ला प्रशासन कार्यालय सिरहाको निर्देशनमा ५०१ वटा डिजिटल उपकरण पानीमा डुबाएर तथा फुटाएर नष्ट गरिएको थियो। घटनापछि विद्यार्थी, अभिभावक र कानुन व्यवसायीहरूले प्रशासनको कदमको विरोध गर्दै क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गरेका छन्।
संयुक्त विद्यार्थी सङ्गठनले सोमबार जिल्ला प्रशासन कार्यालय सिरहाअगाडि विरोध प्रदर्शन गर्ने घोषणा गर्दै जफत गरिएका उपकरणको उचित क्षतिपूर्ति र पीडित विद्यार्थीलाई न्याय दिन सरकारसँग माग गरेको छ।
कानुन व्यवसायीहरूले परीक्षामा अमर्यादित कार्य गरेमा कारबाही गर्न सकिने भए पनि व्यक्तिगत सम्पत्ति नष्ट गर्नु कानुनविपरीत भएको बताएका छन्। यो घटनाले अहिले राष्ट्रिय स्तरमै बहस सिर्जना गरेको छ।


