Birgunj News24
कोल्हवी–८ नयाँबस्तीमा प्रभु हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर, २०० जना लाभान्वित।

घरदैलो डाक्टर” कार्यक्रमअन्तर्गत प्रभु हस्पिटल वीरगञ्जद्वारा बारा जिल्लाको कोल्हवी नगरपालिका–८ नयाँबस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ग्रामीण तथा विपन्न समुदायलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरमा २०० जना लाभान्वित भएका छन् ।

शिविरमा प्रभु हस्पिटलका वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. शाश्वत साहले हाडजोर्नीसम्बन्धी परीक्षण गर्नुका साथै नितम्ब (हिप) तथा घुँडा जोर्नी प्रत्यारोपणसम्बन्धी परामर्श प्रदान गर्नुभएको थियो । शिविरमा बिरामीहरूको निःशुल्क सुगर परीक्षण गरी आवश्यक औषधिसमेत वितरण गरिएको थियो ।

त्यसैगरी, वीरगञ्ज सामुदायिक आँखा अस्पतालको संयुक्त सहकार्यमा सञ्चालन गरिएको आँखा परीक्षण कार्यक्रममा आँखा विशेषज्ञ महेश सिंह धामीले स्थानीय बासिन्दाको निःशुल्क आँखा परीक्षण तथा औषधि वितरण गर्नुभएको थियो । परीक्षणका क्रममा मोतियाबिन्दु फेला परेका बिरामीहरूको आजै शल्यक्रिया गरिने जनाइएको छ ।

शिविरमा ११० महिला र ९० पुरुषसहित वृद्धवृद्धा, बालबालिका, अशक्त तथा असहाय गरी जम्मा २०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रम प्रमुख दिलीपराज कार्कीले अशक्त, ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा विपन्न वर्गका नागरिकहरू अस्पतालसम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

शिविरमा सहभागी कोल्हवी–८ का वडा अध्यक्ष अनुप सुवेदीले गाउँमै विशेषज्ञ चिकित्सक आएर स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गर्नु सकारात्मक कार्य भएको बताउँदै प्रभु हस्पिटल परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यस्ता सेवामूलक कार्यक्रमले ग्रामीण भेगका नागरिकलाई ठूलो राहत पुगेको उल्लेख गर्नुभयो ।

कार्यक्रमका वडा संयोजक विशाल ठकुरीले यस्ता स्वास्थ्य शिविरले समाजमा सकारात्मक प्रभाव पार्ने बताउँदै स्वास्थ्यकर्मीहरूले सामाजिक सेवाको भावनासहित कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उपचार सेवा लिन आएका स्थानीय बासिन्दाले गाउँमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा औषधि सेवा पाउँदा खुसी व्यक्त गरेका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  २१:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update