वीरगञ्ज । वीरगञ्ज स्थित गौतम माध्यमिक विद्यालयमा छात्रवृत्ति कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको प्रवेश तथा छनोट परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ ।विद्यालयका अनुसार सिनियर तथा जुनियर विङ्स अन्तर्गत सञ्चालन गरिएको परीक्षामा एलकेजीदेखि कक्षा ८ सम्मका कुल १ हजार १४५ विद्यार्थी सहभागी भएका थिए । छात्रवृत्तिका लागि आयोजना गरिएको परीक्षा शान्तिपूर्ण, व्यवस्थित तथा मर्यादित रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ ।
परीक्षा केन्द्रको अनुगमन वीरगञ्ज महानगरपालिका शिक्षा समितिकी उपप्रमुख सृजना बुढाथोकीले गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले विद्यालयले परीक्षा व्यवस्थापन तथा सञ्चालनमा देखाएको सक्रियता र अनुशासनको प्रशंसा गर्नुभएको थियो ।
विद्यालयले प्याब्सन ९एब्द्यक्इल्० ले निर्धारण गरेको छात्रवृत्ति आरक्षण व्यवस्था अनुसार विभिन्न वर्ग तथा समुदायका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । जसअनुसार जेहेन्दार विद्यार्थीका लागि ३७ प्रतिशत, गरिब तथा विपन्न वर्गका लागि ३७ प्रतिशत, आदिवासी तथा जनजातिका लागि १२ प्रतिशत, अल्पसंख्यक, सीमान्तकृत तथा पिछडिएको क्षेत्रका लागि २ प्रतिशत, दलितका लागि ६ प्रतिशत, अपाङ्गता भएका व्यक्तिका लागि ३ प्रतिशत तथा शहीद, बेपत्ता व्यक्तिका सन्तति र सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते परिवारका सन्ततिका लागि ३ प्रतिशत आरक्षण व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीले हरेक वर्षझैँ यस वर्ष पनि छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले छात्रवृत्ति कार्यक्रमले आर्थिक अवस्था कमजोर भए पनि अध्ययनमा अब्बल तथा अवसरको खोजीमा रहेका विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।


