वीरगन्ज— वीरगन्ज महानगरपालिका–९ स्थित जिल्ला प्रशासन कार्यालय पर्सा नजिक रहेको गढिमाई लजमा बिहीबार बिहान पार्किङ गरिएको इलेक्ट्रोनिक स्कुटरको ब्याट्री पड्किँदा आगलागी भएको छ।
बिहान करिब ७ बजे भएको आगलागीबाट मधेस प्रदेश ०३–०३९ प १४४३ नम्बरको ई–स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने लजभित्र रहेका विभिन्न सामग्रीमा समेत क्षति पुगेको छ।
प्रत्यक्षदर्शीका अनुसार पार्किङ अवस्थामा रहेको स्कुटरबाट अचानक धुवाँ निस्किन थालेपछि विस्फोटजस्तो आवाज आएको थियो। त्यसलगत्तै आगो सल्किएर लजभित्रका संरचना र सामग्रीमा फैलिएको थियो।
लज तथा स्कुटरका धनी किशन साह कानुका अनुसार आगलागीबाट फर्निचर, लत्ताकपडा, इन्टरनेट उपकरण, एसी, पंखा, होर्डिङ बोर्डलगायतका सामग्री जलेर नष्ट भएका छन्।
आगलागीको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना तथा वीरगन्ज महानगरपालिकाको दमकल घटनास्थलमा पुगेका थिए। सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि स्कुटर तथा लजका विभिन्न सामग्रीमा उल्लेखनीय क्षति पुगेको प्रहरीले जनाएको छ।
घटनाको विस्तृत क्षतिको विवरण संकलन तथा आगलागी सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


