परवानीपुर, जेठ २१ — परवानीपुर गाउँपालिका कृषि शाखाको आयोजनामा गाउँपालिका अध्यक्ष श्री रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा कृषक समूहहरूको कार्य सञ्चालनलाई थप प्रभावकारी तथा व्यवस्थित बनाउने उद्देश्यले प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत श्री प्रगतिशील कृषक समूहलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष कुर्मीले कृषि क्षेत्र परवानीपुर गाउँपालिकाको आर्थिक मेरुदण्ड रहेको उल्लेख गर्दै कृषकहरूको उत्पादन वृद्धि, आधुनिक खेती प्रणालीको विकास तथा आत्मनिर्भर कृषक निर्माणका लागि गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले उपलब्ध गराइएका कृषि सामग्रीहरूको सही सदुपयोग गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कृषकहरूलाई आग्रह गरे।
कृषि शाखाले सञ्चालन गरेको यस कार्यक्रममार्फत कृषक समूहहरूलाई संस्थागत रूपमा सशक्त बनाउने, कृषि पेशाप्रति आकर्षण बढाउने तथा व्यावसायिक खेतीतर्फ उत्प्रेरित गर्ने लक्ष्य राखिएको जनाएको छ।
कार्यक्रममा गाउँपालिकाका कर्मचारी, कृषि शाखाका प्रतिनिधि, स्थानीय कृषकहरू, कृषक समूहका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले गाउँपालिकाले कृषकहरूको हितमा सञ्चालन गरिरहेका कार्यक्रमहरूको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।


