Birgunj News24
पर्सामा ठूलो परिमाणमा ब्रोइलर चल्ला बरामदपछि नष्ट।

पर्सा । सशस्त्र प्रहरी बल, नेपाल ले पर्साको सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइँदै गरिएका प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नं. १३ गण मुख्यालय पर्साका अनुसार जेठ १६ गते बिहान १ः१० बजे विन्दवासिनी गाउँपालिका–४ अमरपट्टी स्थित सीमा क्षेत्रमा बिओपी अमरपट्टीबाट खटिएको पैदल गस्ती टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरिएका चल्ला नियन्त्रणमा लिएको हो ।

गस्ती टोलीलाई देख्नासाथ तस्करीमा संलग्न व्यक्तिहरू ८० कार्टुनमा प्याक गरिएका ८ हजार गोटा ब्रोइलर चल्ला छाडेर फरार भएका थिए । बरामद गरिएका चल्लाको अनुमानित मूल्य करिब ८ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका चल्लाहरूलाई प्रचलित कानुन तथा पशु स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डअनुसार सोही दिन बिहान ११ः१५ बजे नष्ट गरिएको जनाइएको छ ।

चल्ला नष्ट गर्ने कार्य पशु क्वारेन्टाइन कार्यालय का प्रतिनिधि, सम्बन्धित ह्याचरीका प्रतिनिधि, नेपाल प्रहरी, स्थानीय भद्रभलाद्मी तथा सञ्चारकर्मीहरूको रोहवरमा सम्पन्न गरिएको थियो ।

घटनाबारे जानकारी दिँदै सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौला ले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि निगरानी थप कडा पारिएको बताए ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १६:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update