बारा, ०९ जेठ आनन्द पटेल।
बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ बहुअरी टोलस्थित स्वच्छ समाज युवा क्लब ले शनिबार तेस्रो पटक एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरेको छ। कार्यक्रममा बहुअरी टोलका २५ जना विद्यार्थीलाई सम्मान गरिएको हो।
सम्मानित हुने विद्यार्थीहरूमा सुषमा कुमारी पटेल, अनामिका कुमारी पटेल, आशिष पटेल, मुस्कान कुमारी, राहुल ठाकुर, राहुल कुमार, निखिल पटेल, आशिष कुमार राम लगायत रहेका थिए। यसैबीच, सबैभन्दा बढी GPA ल्याउने प्रिन्स कुमार साहलाई विशेष सम्मान गरिएको थियो। साथै वडा अध्यक्ष रामेश्वर साह कलवारले उनलाई नगद ५ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि पूर्व संविधानसभा सदस्य जयप्रकाश पटेल ले स्वच्छ समाज युवा क्लबले निरन्तर रूपमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै उनीहरूको मनोबल बढाउने काम गरेको भन्दै क्लबको प्रशंसा गरे। उनले विद्यार्थीहरुलाई संस्कारसहित उच्च शिक्षा हासिल गर्न आग्रह गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए।
समाजसेवी शिवशंकर पटेलले बहुअरी टोल बुद्धिजीवी उत्पादन गर्ने गाउँका रूपमा परिचित रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले गाउँको पहिचान अझ उचो बनाएको बताए। उनले गाउँका डाक्टर, इन्जिनियर, शिक्षक, पत्रकार, प्रशासनिक कर्मचारी तथा विभिन्न क्षेत्रमा उच्च पदमा पुगेका व्यक्तिहरूको उदाहरण दिँदै विद्यार्थीलाई अग्रजबाट प्रेरणा लिएर अघि बढ्न सुझाव दिए।
त्यसैगरी समाजसेवी तथा अधिवक्ता रामचन्द्र सिंहले अनुशासन, ठूला व्यक्तिको सम्मान तथा सिकेका कुरालाई व्यवहारमा उतार्न विद्यार्थीलाई आग्रह गरे। युवा नेता सञ्जु साहले शिक्षा व्यक्तिको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै एसईईमा मात्र सीमित नरही उच्च शिक्षा हासिल गर्न विद्यार्थीलाई प्रेरित गरे।
कार्यक्रममा प्राध्यापक डा. अर्जुन पटेल, डा. प्रमोद यादव, प्राध्यापक जितेन्द्र बर्मा, शिक्षक सतिश पटेल, वडा सदस्य दारा सिंह पटेल, समाजसेवी असेश्वर कुर्मी, रमेश सिंह, तेजप्रताप सिंह, जलिल देवान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
नेपाल कम्युनिस्ट पार्टीका नेता अजय पटेलले गरिब तथा मेहनती विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने घोषणा गरेका थिए भने हेरिटेज पब्लिक +२ मावि का सञ्चालक मंगेश्वर यादवले आर्थिक अवस्था कमजोर भएका तथा मेहनती विद्यार्थीलाई आफ्नो विद्यालयमा निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा गरे।
कार्यक्रममा क्लबका वरिष्ठ सदस्य तथा प्राध्यापक सरोज कुमार यादवलाई विद्यार्थी शिक्षणमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो। त्यस्तै शिक्षक सतिश पटेल, हेरिटेज +२ माविका सञ्चालक मंगेश्वर यादव, क्रियाशील युवा पत्रकार मञ्चका नव निर्वाचित अध्यक्ष तथा पत्रकार आनन्द पटेल र प्रतिनिधि सभा निर्वाचनमा शान्ति सुरक्षामा योगदान दिएका सई तेजप्रताप सिंहलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा क्लबका कोषाध्यक्ष मुर्तुजा आलमले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव त्रिलोक प्रताप सिंहले गरेका थिए। कार्यक्रममा उपाध्यक्ष उमेश साह, नमोजी साह, अखिल पटेल, सर्वेश गुप्ता, लालबाबु यादव, समाजसेवी रामजी सिंह, पानमती देवी, वडा सदस्य उषा देवी राम लगायत अभिभावक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम भूपेन्द्र पटेल को अध्यक्षतामा सम्पन्न भएको थियो। समापन मन्तव्यमा अध्यक्ष पटेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, समाजसेवी, अभिभावक तथा क्लबका सदस्यप्रति आभार व्यक्त गर्दै आगामी दिनमा युवाको रोजगारी, स्वास्थ्य शिविर तथा खेलकुदसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिने बताए। कार्यक्रम श्री विष्णु नारायण धर्मशालामा सम्पन्न भएको थियो।


