वीरगञ्ज, जेठ १ । सेस्मी इन्टरनेशनल स्कुल वीरगञ्जले अध्ययनमा उत्कृष्ट तथा आर्थिक रूपमा कमजोर जेहेन्दार छात्र–छात्राहरूलाई विद्यालय आउजाउमा सहजता प्रदान गर्ने उद्देश्यले साइकल वितरण गरेको छ ।
विद्यालय परिसरमा आज आयोजित एक विशेष कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ६ का चन्दन साह र कक्षा ५ की करिश्मा कानुलाई साइकल हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै अन्य निजी तथा सामुदायिक विद्यालयहरूले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता प्रेरणादायी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक तथा स्थानीय बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको थियो ।
विद्यालयकी प्रधानाध्यापिका एवं लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन आशमा सिंह यादवले शिक्षासँगै विद्यार्थीहरूको नियमित उपस्थिति र समयपालनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिइने बताएकी थिइन् । उनले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विद्यालयले विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएकी थिइन् ।
साइकल प्राप्त गरेपछि विद्यार्थीहरूले विद्यालयप्रति आभार व्यक्त गर्दै यसले पढाइप्रति थप उत्साह र आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका थिए । टाढाबाट विद्यालय आउने विद्यार्थीहरूलाई विशेष रूपमा राहत पुगेको अभिभावकहरूले बताएका छन् ।


