Birgunj News24
वीरगञ्जका दुई मासु व्यवसायी कारबाही, अखाद्य रंग मिसाइएको मासु बरामद।

वीरगञ्जका दुई मासु व्यवसायी कारबाही, अखाद्य रंग मिसाइएको मासु बरामद
वैशाख ३०, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साको संयुक्त अनुगमन टोलीले वीरगञ्जका विभिन्न मासु पसलमा अनुगमन गर्दै अखाद्य रंग प्रयोग गर्ने तथा व्यवसाय दर्ता नगरी मासु बिक्री वितरण गर्ने दुई व्यवसायीलाई कारबाही गरेको छ।
मिति २०८३ वैशाख २९ गते गरिएको अनुगमनका क्रममा वीरगञ्ज–१२ स्थित “दिलसाद फ्रेस मिट हाउस” मा बिक्रीका लागि राखिएको मासुमा अखाद्य रंग मिसाइएको तथा पसलमा मूल्य सूची नराखिएको पाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। उक्त कसुरमा पसल सञ्चालकलाई रु. २० हजार जरिवाना गरिएको छ।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका–१३ निवासी अफरोज अंसारीले व्यवसाय दर्ता नगरी मासु बिक्री वितरण गर्दै आएको भेटिएपछि उनलाई समेत रु. २० हजार जरिवाना गरिएको जनाइएको छ।
अनुगमन टोलीले बरामद गरिएको अखाद्य मासु जफत गरी नष्ट गरेको जनाएको छ। साथै, उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्यवस्तुको बिक्री वितरण गर्दा गुणस्तर कायम गर्न, मूल्य सूची अनिवार्य राख्न तथा कानुनी प्रक्रिया पूरा गरेर मात्रै व्यवसाय सञ्चालन गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update