वीरगञ्ज, २७ वैशाख
जेन जी पर्साले वीरगञ्जका हज यात्रामा जाने मुस्लिम श्रद्धालुहरुलाई शुभकामना व्यक्त गर्दै विशेष बिदाइ कार्यक्रम आयोजना गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नं. २ स्थित छपकैया चौकमा आयोजित कार्यक्रममा हज यात्रामा सहभागी हुन लागेका यात्रुहरुलाई सम्मानसहित बिदाइ गरिएको हो।
कार्यक्रममा बोल्दै जेन जी पर्साका संयोजक महादेव प्रसाद कुर्मीले हज यात्राको शुभकामना व्यक्त गर्दै विश्वमा फैलिरहेको युद्ध, हिंसा तथा द्वन्द्व अन्त्यका लागि हज यात्राका क्रममा शान्ति, सद्भाव र मानवताको पक्षमा दुवा तथा प्रार्थना गर्न आग्रह गरे। उनले धार्मिक यात्राले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
त्यस्तै जेन जीका प्रमुख सल्लाहकार बिरेन्द्र कण्ठले समाजमा धार्मिक सहिष्णुता कायम राख्न तथा देशमा अमन–चयन, सद्भाव र शान्तिको वातावरण निर्माणका लागि पनि विशेष दुवा गर्न हज यात्रुहरुलाई आग्रह गरे। उनले सबै धर्मबीच आपसी सम्मान र एकताको भावना अझ मजबुत बनाउन आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा विभिन्न वडाका जेन जी इन्चार्जहरू, वीरगञ्ज महानगरपालिकाका जेन जी उप–संयोजक, जेन जीका अगुवा सल्लाहकारहरू तथा विभिन्न वडाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले हज यात्रामा जाने श्रद्धालुहरूको सफल, सुरक्षित तथा मंगलमय यात्राको कामना गर्दै धार्मिक सद्भाव, सामाजिक एकता र विश्व शान्तिको सन्देश फैलाउनुपर्नेमा जोड दिएका थिए।


