वीरगञ्ज, २३ वैशाख । वीरगञ्ज महानगरपालिका–१० घडिअर्वाबाट हराएका दुई बालिकालाई भारतको बिहारस्थित छपराबाट सकुशल उद्धार गरी नेपाल ल्याइएको छ।
घडिअर्वाका दीपेन्द्र कानुको छोरी १४ वर्षीया आर्या गुप्ता र विनोद सहनीकी छोरी १४ वर्षीया रिद्धि सिद्धी (नाव्या) सहनी गत सोमबार अपराह्न करिब ३:३० बजे ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएका थिए। साँझसम्म पनि सम्पर्कमा नआएपछि परिवारले प्रहरीमा खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार खोजतलासका क्रममा मंगलबार साँझ भारतको छपरा रेलवे स्टेशनबाट भारतीय प्रहरीको सहयोगमा दुवै बालिकालाई उद्धार गरिएको हो। उद्धारपछि राति नै उनीहरुलाई वीरगञ्ज ल्याई प्रहरीको सेफ हाउसमा राखिएको र बुधबार अभिभावकको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।
यसरी पुगे भारतसम्म
प्रहरीका अनुसार रिद्धिसिद्धी वीरगञ्जस्थित इस्कोन कार्यालयमा आउने-जाने गर्थिन्। उनले आर्यालाई भारतको मथुरा–वृन्दावन घुम्न जाने प्रस्ताव गरेपछि दुवै जना घरबाट निस्किएका थिए।
ट्युसन जान्छौं भन्दै निस्किएका उनीहरू सिधै सीमावर्ती रक्सौल रेलवे स्टेशन पुगेका थिए। त्यहाँबाट रेल चढेर नरकटियागन्ज हुँदै गोरखपुर पुगेका उनीहरू पछि मुजफ्फरपुर हुँदै छपरा पुगेका थिए।
मथुरा–वृन्दावन पुग्न आवश्यक भाडा नभएपछि रिद्धिसिद्धीले आफ्नी बहिनीको मोबाइलमा क्यूआर कोड पठाएर पैसा जुटाउने प्रयास गरेकी थिइन्। उक्त गतिविधिबाट घटनाको जानकारी पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कानु मार्फत प्रहरीसम्म पुगेको थियो।
त्यसपछि नेपाल प्रहरी र भारतीय प्रहरीको समन्वयमा लोकेसन ट्र्याक गरी छपरा रेलवे स्टेशनबाटै दुवै बालिकालाई नियन्त्रणमा लिइएको थियो।
उद्धारपछि आर्याका काका लालबाबु कानु र रास्वपाका युवा नेता लखन गुप्ता छपरा पुगेर बालिकालाई नेपाल ल्याएका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


