Birgunj News24
वीरगन्जमा मसाज तथा स्पा सेन्टरमाथि महानगरको अनुगमन सुरु।

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शहरभर सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको निगरानी तथा अनुगमन अभियान सुरु गरेको छ। मसाज सेन्टरको आवरणमा अवाञ्छित गतिविधि भइरहेको गुनासो बढ्दै गएपछि महानगरले मंगलबारदेखि विशेष अनुगमन थालेको हो।

नगर प्रहरी इन्चार्ज हरि भुषालका अनुसार भन्सार क्षेत्रबाट सुरु गरिएको अनुगमन क्रमशः महानगरका सबै ३२ वडामा विस्तार गरिनेछ। अनुगमनका लागि नेपाल प्रहरीसँगको समन्वयमा नगर प्रहरी टोली परिचालन गरिएको छ।

अनुगमनका क्रममा सञ्चालक र कर्मचारीहरूको विवरण संकलन गर्नुका साथै नाबालिका प्रयोग गरिएको छ वा छैन भन्ने विषयमा विशेष निगरानी गरिएको छ। साथै व्यवसाय दर्ता, सञ्चालन अनुमति, कर भुक्तानीको अवस्था, सेवा सञ्चालनको प्रकृति तथा तोकिएको आचारसंहिताको पालना भए नभएको विषयमा पनि सूक्ष्म रूपमा जाँच भइरहेको नगर प्रहरी इन्चार्ज भुषालले जानकारी दिए।

अनुगमनका क्रममा दुई वटा स्पा सेन्टरमा नाबालिका प्रयोग भएको फेला परेको उनले बताए। यस्ता गतिविधिमा संलग्न पाइए कडा कानुनी कारबाही गरिने चेतावनी समेत महानगरले दिएको छ।

हालसम्म एक दर्जनभन्दा बढी मसाज तथा स्पा सेन्टरहरूको स्थलगत अनुगमन सम्पन्न भइसकेको महानगरले जनाएको छ। प्रारम्भिक अनुगमनमा केही व्यवसायले आवश्यक कागजात पूरा नगरेको तथा सञ्चालन प्रक्रिया मापदण्डअनुसार नभएको पाइएको छ।

महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालन हुने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यवसायमाथि कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ। साथै आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिँदै व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन पहल गरिने जनाएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख १९, २०८३  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update