नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य समायोजन गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोल र डिजेल/मट्टितेलको भाउ घटेको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १२ रुपैयाँले घटाइएको छ। यसपछि काठमाडौं उपत्यका, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ।
त्यस्तै सुर्खेत र दाङमा पेट्रोल २१६ रुपैयाँ पुगेको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा २१४ रुपैयाँ तोकिएको छ।
तर एलपी ग्यासको मूल्य भने १५० रुपैयाँले बढेर प्रति सिलिन्डर २ हजार १६० रुपैयाँ पुगेको छ। आधा सिलिन्डरको मूल्य १ हजार ८० रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाण्डौमा प्रति किलोलिटर ४६ डलरले वृद्धि भएको निगमले जनाएको छ।


