वीरगञ्ज । यातायात व्यवस्था कार्यालय कलैयाले लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीहरूका लागि आजदेखि सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड) वितरण सुरु गरेको छ।
कार्यालयका अनुसार यातायात व्यवस्था विभागबाट छपाइ भई आएका नयाँ, नवीकरण, वर्ग थप तथा प्रतिलिपि सम्बन्धी स्मार्ट लाइसेन्स वितरण गरिनेछ।
सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै वैशाख १८ देखि २० गतेसम्म पर्ने सार्वजनिक बिदाका दिनमा पनि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म वितरण कार्य निरन्तर सञ्चालन गरिने कार्यालय प्रमुख चिन्तन आचार्यले जानकारी दिएका छन्।
कार्ड लिन सेवाग्राही स्वयं उपस्थित हुनुपर्नेछ। साथै, पुरानो सवारी चालक अनुमति पत्र (भएमा) वा राजस्व तिरेको सक्कल रसिद अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार ठूलो सङ्ख्यामा स्मार्ट कार्ड प्राप्त भएकाले क्रमिक रूपमा सबै सेवाग्राहीलाई वितरण गरिनेछ। लामो समयदेखि रसिदका भरमा सवारी चलाउँदै आएका बारा तथा आसपासका सेवाग्राहीहरू यसबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।


