Birgunj News24
नेशनल मेडिकल कलेजद्वारा आदर्श कोतवाल गाउँपालिकामा “निःशुल्क बृहत स्वास्थ्य शिविर” सम्पन्न, १०८२ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर ।

हरनैया - ११ वैशाख २०८३

बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा २०८३ साल वैशाख ११ गते “बृहत निःशुल्क स्वास्थ्य शिविर” भव्य रूपमा सम्पन्न गरिएको छ। बिहान ०९:३० बजेदेखि सञ्चालन भएको उक्त शिविरमा ग्रामीण भेगका नागरिकहरूलाई लक्षित गरी व्यापक र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण, ECG, ECHO तथा USG सेवा उपलब्ध गराइएको थियो। विभिन्न विशेषज्ञ विभागहरूको सक्रिय सहभागितामा सञ्चालन भएको यस शिविरमा जनरल फिजिसियन, मुटु रोग, छाला रोग, स्त्री तथा प्रसूति रोग, हाड जोर्नी तथा नशा रोग, बाल रोग तथा रेडियोलोजी लगायतका सेवाहरू प्रदान गरिएको थियो।

उक्त शिविरबाट कुल १०८२ जना बिरामीहरूले प्रत्यक्ष लाभ लिएका छन्।

कार्यक्रममा आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर प्रसाद साह, प्रमुख प्रशासकीय अधिकृत विजय कुमार चौरसिया, स्वास्थ्य शाखा प्रमुख पारस राय यादव तथा कार्यक्रम संयोजक रमाकान्त साहको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी नेशनल मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, कार्डियोलोजिस्ट डा. जितेन्द्र मिश्र तथा वरिष्ठ मिडिया सल्लाहकार आशिक अन्सारीको सक्रिय सहभागिता रहेको थियो।

यस अवसरमा आदर्श कोतवाल गाउँपालिका र नेशनल मेडिकल कलेज, वीरगञ्जबीच स्वास्थ्य सेवाको विस्तार तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले महत्वपूर्ण समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ। उक्त सम्झौतामा गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साह र अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारीले हस्ताक्षर गरेका छन्।

“सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रत्येक नागरिकसम्म” भन्ने लक्ष्यका साथ आयोजना गरिएको यस बृहत निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै स्थानीय तह र स्वास्थ्य संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  २३:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update