Birgunj News24
कलैयामा कानु युथद्वारा विपन्न परिवारलाई विवाहको लागी  खाद्यान्न सामग्री  सहयोग।

कलैया, ११ वैशाख — सामाजिक उत्तरदायित्वलाई उदाहरणीय बनाउँदै कानु युथले बारा जिल्लाको कलैया उपमहानगरपालिका–३ भवानीपुर निवासी एक आर्थिक रूपमा कमजोर कुर्मी परिवारलाई विवाह कार्यक्रमका लागि खाद्य सामग्री सहयोग गरेको छ।

छोरीको वैशाख १२ गते हिन्दु परम्परा अनुसार विवाह हुने तयारी भइरहेका बेला आर्थिक अभावका कारण समस्या देखिएपछि कानु युथ वीरगञ्जले करिब रु. २५ हजार बराबरका आवश्यक खाद्य सामग्री उपलब्ध गराएको हो।

सहयोग सामग्रीमा चामल २ बोरा, मसुरो २० किलो, चिनी २० किलो, आलु १ बोरा, प्याज २० किलो, रिफाइन तेल १ जार, सरसो तेल १ टिन, मैदा २० किलो, बेसन १० किलो, ग्यास २ सिलिन्डर तथा हरियो तरकारी लगायतका सामग्री समावेश गरिएको संस्थाले जनाएको छ।

कानु युथका सचिव श्रवण साहले समाजमा रहेका विपन्न तथा असहाय परिवारलाई सहयोग गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताउँदै यस्ता कार्यले सामाजिक एकता र सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे।

कार्यक्रम संस्थाका अध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सदस्य देवेन्द्र साह कानु, कानु समाज बारा का रमेश साह कानु, अजय साह लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update