वीरगञ्ज (पर्सा), १० बैशाख ।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु ७९ अर्ब ५४ करोड बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात १५ प्रतिशतले वृद्धि भएको हो।
गत आर्थिक वर्षको नौ महिनामा यस नाकाबाट रु ६९ अर्ब ३५ करोड बराबरको वस्तु निर्यात भएको थियो भने चालु आर्थिक वर्षमा निर्यात उल्लेख्य रूपमा बढेको भन्सारले जनाएको छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार निर्यात वृद्धिमा प्रमुख भूमिका प्रशोधित भटमास तेलले खेलेको छ। चालु आवको नौ महिनामा मात्रै रु ४३ अर्ब ६१ करोड मूल्य बराबरको भटमास तेल निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिमा रु ३६ अर्ब ६२ करोड थियो।
त्यस्तै, फलफूलको जुस निर्यात पनि बढेर रु ५ अर्ब ८४ करोड पुगेको छ, जुन गत वर्ष रु ५ अर्ब ७७ करोड थियो। प्रशोधित पाम तेलको निर्यात उल्लेख्य रूपमा बढ्दै रु ५ अर्ब २४ करोड पुगेको छ भने गत वर्ष यो मात्र रु ५९ करोड थियो।
यद्यपि सूर्यमुखी तेलको निर्यात भने घटेको देखिएको छ। चालु आवमा रु ५ अर्ब ५ करोड बराबरको निर्यात भएकोमा गत वर्ष सोही अवधिमा रु ६ अर्ब ६१ करोड थियो।
त्यस्तै, कपडा निर्यात रु २ अर्ब ६९ करोड र सिन्थेटिक यार्न निर्यात रु १ अर्ब ९४ करोड पुगेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालयका अनुसार नाकाबाट निर्यातको दायरा विस्तार हुँदै गएको र औद्योगिक उत्पादनहरूको निर्यातमा सकारात्मक वृद्धि देखिएको छ।


