वीरगञ्ज । नेपाल सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले हप्तामा शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने तथा शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेपछि यसको प्रभावबारे वीरगञ्जका विद्यालय सञ्चालकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
नेशनल प्याब्सन, प्याब्सन तथा हिसान पर्साका प्रतिनिधिहरूले वीरगञ्ज महानगरपालिकाका प्रमुखलाई सम्बोधन गर्दै एक अनुरोध पत्रमार्फत समयमै विद्यालय सञ्चालनका लागि आवश्यक सहकार्य गरिदिन आग्रह गरेका छन्। उनीहरूको भनाइमा हप्तामा दुई दिन बिदा कायम हुँदा वार्षिक रूपमा झण्डै ४० दिन अतिरिक्त बिदा हुने अवस्था सिर्जना भई तोकिएको समयमा पाठ्यक्रम पूरा गर्न कठिनाइ हुने देखिन्छ।
सञ्चालकहरूले शैक्षिक सत्र वैशाख १ गतेबाट १५ गतेमा सारिँदा शैक्षिक गतिविधिमा थप दबाब पर्ने उल्लेख गर्दै यसले समग्र शैक्षिक क्यालेन्डरमा दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिएका छन्।
अनुरोध पत्रमा शिक्षा नियमावली २०५९ को नियम ८४ अनुसार शैक्षिक सत्र वैशाख १ गतेदेखि चैत मसान्तसम्म रहने र एक शैक्षिक सत्रमा कम्तीमा २२० कार्यदिन हुनुपर्ने व्यवस्था रहेको स्मरण गराइएको छ। त्यस्तै, संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार वार्षिक परीक्षा सम्पन्न भएपछि मात्र विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्नुपर्ने प्रावधानसमेत उल्लेख गरिएको छ।
नेपालको संविधानअनुसार आधारभूत तथा माध्यमिक तहको शिक्षाको व्यवस्थापन स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले विद्यालय सञ्चालकहरूले महानगरपालिकासँग समन्वय गर्दै वैकल्पिक कार्यतालिका पनि प्रस्ताव गरेका छन्।
प्रस्तावित कार्ययोजनाअनुसार वैशाख ४ गतेदेखि नयाँ भर्ना सुरु गर्ने, वैशाख ६ गतेसम्म शिक्षक प्रशिक्षण तथा वार्षिक कार्यक्रम तय गर्ने, वैशाख ७ गते अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, वैशाख ८ गतेदेखि विद्यार्थी हाजिरी तथा पाठ्यपुस्तकसम्बन्धी जानकारी गराउने र वैशाख ९ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने योजना रहेको छ।
विद्यालय सञ्चालकहरूले शिक्षा नियमावलीअनुसार शैक्षिक सत्र वैशाख १ गतेदेखि नै कायम रहने व्यवस्था मिलाउन तथा प्रस्तावित तालिका अनुसार कक्षा सञ्चालन गर्न महानगरपालिकासँग आवश्यक सहकार्यको आग्रह गरेका छन्।
उक्त अनुरोध पत्रमा नेशनल प्याब्सन पर्साका नगर अध्यक्ष सोनालाल प्रसाद पटेल, प्याब्सन पर्साका नगर अध्यक्ष राहुल श्रीवास्तव, एन प्याब्सन पर्साका नगर अध्यक्ष जियालाल गुप्ता तथा हिसान पर्साका जिल्ला अध्यक्ष मुकेश गुप्ताले हस्ताक्षर गरेका छन्।


