Birgunj News24
जेसीज सप्ताहको तेस्रो दिन: बाल सुधार गृहका १०२ बालकको स्वास्थ्य परीक्षण।

वीरगञ्ज, ०३ वैशाख ।
वीरगञ्ज जेसीजको सप्ताहव्यापी कार्यक्रम “जेसीज सप्ताह” अन्तर्गत तेस्रो दिन निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। बाल सुधार गृह, वीरगञ्ज–४ बिर्तामा आयोजित उक्त कार्यक्रम वीरगञ्ज जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रममा Everest Dental Clinic का सञ्चालक तथा दन्त चिकित्सक डा. मनोज उपाध्यायले बाल सुधार गृहमा रहेका १०२ जना बालकहरूको दन्त परीक्षण गर्नुभएको थियो। परीक्षणका क्रममा उहाँले बालकहरूलाई आवश्यक स्वास्थ्य परामर्श समेत दिनुभएको थियो। साथै, सहभागी सबै बालकहरूलाई दाँत माझ्ने ब्रस, मञ्जन लगायतका सामग्रीहरू वितरण गरिएको थियो।
कार्यक्रम वीरगञ्ज जेसीजका पूर्व अध्यक्ष तथा अध्यक्ष सल्लाहकार जेसीआई सिनेटर गणेशमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उहाँले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले बालकहरूको भविष्य उज्यालो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा जेसीआई सिनेटर निशान्त कुमार लामिछाने, सन्तोष खनाल, जेसी मुकेश सिंह, आजीवन सदस्य जेसी बबिता श्रेष्ठ, बाल सुधार गृहका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामनरेश प्रसाद कुशवाहा, प्रशासन इन्चार्ज कृष्ण साह लगायतका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको संयोजन वीरगञ्ज जेसीजका उपाध्यक्ष जेसी निश्चल प्रजापतिले गर्नुभएको थियो भने सञ्चालन कोषाध्यक्ष जेसी पप्पु गुप्ताले गर्नुभएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रम सफल भएको बताएका छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update