Birgunj News24
वीरगञ्ज विर्ता बजारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १९८ जनाले लिए सेवा।

वीरगञ्ज २८ चैत 

वीरगञ्ज महानगरपालिका वडा नं. ४ विर्ता बजारमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वास्थ्य सेतु नेपालद्वारा आयोजित उक्त शिविरमार्फत स्थानीय बासिन्दाहरूलाई आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।

शिविरमा कुल १९८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन्। सहभागीहरूका लागि सामान्य स्वास्थ्य जाँच, रक्त परीक्षण तथा आवश्यक औषधि वितरण सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।

शिविर स्वास्थ्य सेतु नेपालका अध्यक्ष अजहर आलमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय स्तरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
शिविरमा चिकित्सा अधिकारीहरू डा. जफर आलम, डा. मोस्तकिम मन्सुर, डा. नौशाद अली, डा. नविन सर्राफ र डा. सुमित चौरसियाले बिरामीहरूको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए। साथै नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई लगायतको पनि उपस्थिति रहेको थियो।

आयोजकका अनुसार यस्ता निःशुल्क स्वास्थ्य शिविरहरूले आर्थिक रूपमा कमजोर तथा आवश्यक स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउने मात्र होइन, स्थानीयस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उद्देश्य रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update