Birgunj News24
ओली र लेखकको गिरफ्तारीविरुद्ध एमालेको आपत्ति, तत्काल रिहाइको माग।

काठमाडौं – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भन्दै तीव्र विरोध जनाएको छ। आज बिहान उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको हो।

एमाले महासचिव शंकर पोखरेलका अनुसार, पक्राउ प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी भएको छ। बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्दै प्रत्येक जिल्लाको सदरमुकाममा विरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको छ।

बैठकका अन्य निर्णयहरू:

आम जनसमुदाय र नागरिक समाजसँग सहकार्य गरी कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।
आज अपराह्न ३ बजे प्रत्येक जिल्लामा जनसंगठनको तर्फबाट विरोध प्रदर्शन।
भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने।
लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद र सहकार्य गर्ने।

एमाले कार्यकर्ताहरू आज बिहान काठमाडौंको चाबहिटी क्षेत्रमा भेला भएर विरोध प्रदर्शन गरेका थिए। गिरफ्तारिका कारण जेनजी आयोगको प्रतिवेदन कार्यान्वयनसँग सम्बन्धित रहेको बताइएको छ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update