वीरगञ्ज । माइस्थान मन्दिर सञ्चालक समिती वीरगञ्जको आयोजनामा तथा राउन्ड टेबल नेपालको सहयोगमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। श्री गहवामाइको निशानसहित हुने डोली यात्रा–२०८२ को पूर्वसन्ध्यामा बुधबार माइस्थान पार्कमा आयोजित कार्यक्रममा ८ महिला सहित ६५ जनाले रक्तदान गरेका छन्।
समितिले हरेक वर्षझैं यस वर्ष पनि धार्मिक तथा सामाजिक कार्यमार्फत मानव सेवामा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा बबिता देवी थरुनी, ज्योती प्रधान श्रेष्ठ, रन्जु गिरी, स्मृति कार्की, उषा उप्रेती, सुनिता कार्की, बन्दना शर्मा, स्वीकृति प्याकुरेल लगायतका महिलासहित अनुभव प्याकुरेल, नवराज भट्टराई, मोहित राजपाल, गणेश साह हजाम, सुरेश गोयल, रामप्रसाद श्रेष्ठ, गौरीशंकर गुप्ता लगायतले रक्तदान गरेका थिए।
कार्यक्रमका अध्यक्ष तथा माइस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साहले रक्तदान जीवनदान सरह भएकाले सबैले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिए। उनले प्रत्येक तीन महिनामा रक्तदान गरेर मानवता बचाउन सबैमा आग्रह गर्दै डोली यात्रामा समेत सभ्य र भव्य सहभागिताका लागि अपिल गरे।
सो अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष तथा वरिष्ठ समाजसेवी सरदार जसपाल सिंहले वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगत अभाव भइरहेका बेला यस्तो कार्यक्रमले ठूलो राहत पुगेको बताए। उनले रक्तदातालाई समाजका वास्तविक नायकको संज्ञा दिँदै उनीहरूको प्रशंसा गरे।
माइस्थान पार्कमा सम्पन्न कार्यक्रममा वीरगञ्ज फ्रेन्ड्स राउन्ड टेबल–८ का अध्यक्ष दीपक कुमार अग्रवाल, वडा नं. ८ का अध्यक्ष रितेश गुप्ता, पूर्व वडा अध्यक्ष ध्रुव नेपाल, नेपाल रेडक्रस सोसाइटी पर्साका उपसभापति राजेश्वर चौधरी, समाजसेवी, शिक्षाविद्, पत्रकार तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक जितेन्द्र कुशवाहाको नेतृत्वमा स्वयंसेवक टोलीले रक्त संकलन कार्य सम्पन्न गरेको थियो। कार्यक्रमले सामाजिक एकता र मानव सेवाको सन्देश फैलाएको सहभागीहरूले बताएका छन्।


