Birgunj News24
एसईई तयारीमा जुटेका विद्यार्थीलाई जगरनाथपुर गाउँपालिकाको सहयोग।

पर्साको जगरनाथपुर गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा रहेका आफ्ना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।

गाउँपालिका–४ सण्ठीस्थित विद्यालयमा आइतबार शिक्षा शाखाले आयोजना गरेको एसईई परीक्षार्थीहरुको विदाई कार्यक्रममा गाउँपालिकाभित्रका तीन माध्यमिक विद्यालयका १ सय २० जना विद्यार्थीलाई टी–सर्ट, डायरी र कलम प्रदान गरिएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गाउँपालिकाको लोगो अंकित सामग्री हस्तान्तरण गर्दै विद्यार्थीहरुलाई सफलताको शुभकामना दिए। उनले चैत १९ गतेदेखि सुरु हुने एसईई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्दै परीक्षा पश्चात उच्च शिक्षा अध्ययनका क्रममा कुनै समस्या आएमा आफू वा प्रमुख प्रशासकीय अधिकृतसँग सिधै सम्पर्क गर्न पनि सुझाव दिए।

विद्यार्थीहरुलाई अध्यक्ष यादव, उपाध्यक्ष बबीता सिंह क्षेत्री तथा प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवलगायतले खादा लगाएर सम्मानपूर्वक विदाई गरेका थिए।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख अशोक कुमार सिंहका अनुसार कार्यक्रममा शिक्षा समितिका सदस्य, वडा सदस्य, प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update