Birgunj News24
पर्सामा २० लाखभन्दा बढी अवैध नगदसहित एक जना पक्राउ।

पर्सा — सशस्त्र प्रहरी बल, नेपाल पर्साले २० लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
मिति २०८२ चैत ६ गते बिहान करिब ११:५० बजे वीरगंज महानगरपालिका वडा नं. १६ स्थित भन्सार मेनगेटमा खटिएको सशस्त्र प्रहरीको चेकपोष्ट टोलीले विशेष सूचनाका आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गरेको थियो।
जाँचका क्रममा चालक विनय शंकर साह तुरहा (५० वर्ष), वीरगंज महानगरपालिका वडा नं. १७ निवासीले मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा लुकाई ल्याउँदै गरेको नगद फेला परेको प्रहरीले जनाएको छ।
बरामद नगदमा नेपाली रुपैयाँ १ हजार दरका १,३०२ थान (१३,०२,०००), ५ सय दरका १,४०० थान (७,००,०००), ५० दरको १ थान (५० रुपैयाँ) तथा भारतीय रुपैयाँ १०० दरका ६ थान (६०० रुपैयाँ) रहेका छन्। यसरी जम्मा नेपाली रुपैयाँ २०,०२,०५० र भारतीय रुपैयाँ ६०० बरामद गरिएको हो।
यसका साथै एक थान Samsung Galaxy A15 मोबाइल र वीरगंज भन्सार एजेन्ट संघ पर्सा को परिचयपत्र समेत बरामद गरिएको छ।
उक्त व्यक्ति, नगद तथा मोटरसाइकललाई थप अनुसन्धान तथा कारबाहीका लागि वीरगंज भन्सार कार्यालय मा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी स.प्र.ना.उ. मोहनराज निरौलाले उक्त जानकारी दिएका छन्।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update