वीरगञ्ज महानगरपालिका वडा नं. ११ मा अवस्थित चिल्ड्रेन वर्ल्ड बोर्डिङ्ग स्कुलको वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो।
उद्घाटन समारोहमा बोल्दै लामिछानेले नर्सरीमा भर्ना भएका विद्यार्थीको संख्या र एसइई दिने बेलाको संख्याबीच ठूलो अन्तर देखिनु चिन्ताजनक रहेको उल्लेख गर्दै बीचमै विद्यालय छोड्ने (ड्रपआउट) विद्यार्थीको वास्तविक कारण पहिचान गर्न आवश्यक रहेको बताउनुभयो। मधेस प्रदेशको शिक्षा सूचकांकमा पर्सा जिल्ला अग्रस्थानमा रहेको उल्लेख गर्दै उहाँले अभिभावक, निजी विद्यालय सञ्चालक तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले संयुक्त रूपमा यस विषयमा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
उहाँले अभिभावकहरूले समयमै शुल्क भुक्तानी गरे विद्यालयको भौतिक पूर्वाधार तथा शिक्षण गुणस्तरमा सुधार हुने बताउँदै यसले शिक्षक–शिक्षिकाको क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्याप्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले विद्यालयले पछिल्लो समय उल्लेखनीय सुधार गर्दै शिक्षा क्षेत्रमा अघि बढिरहेको भन्दै प्रशंसा गर्नुभयो। प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा विद्यालयको योगदान सराहनीय रहेको उल्लेख गर्दै विद्यालय परिवारलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो।
त्यसैगरी प्याप्सनका वरिष्ठ सल्लाहकार आलोक चौरसिया, महानगर सचिव अमित आलोक तथा वरिष्ठ उपाध्यक्ष सुशिला शाहलगायतले पनि विद्यालयको शैक्षिक तथा अतिरिक्त गतिविधिमा भएको प्रगतिबारे प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न सुझाव दिनुभएको थियो।
विद्यालयका प्रिन्सिपल सुमन दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याप्सनका विभिन्न पदाधिकारी, विद्यालयका डाइरेक्टर सिम्रन दासलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै वर्षभर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको डाइरेक्टर सिम्रन दासले जानकारी दिनुभयो। कार्यक्रमको सहजीकरण पत्रकार राजेन्द्र नेपालीले गर्नुभएको थियो।


