Birgunj News24
रास्वपाको दुई दिने आवासीय प्रशिक्षण सुरु, सांसदलाई कडा आचारसंहिता।

चैत्र, काठमाडौँ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि दुई दिने विशेष आवासीय अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । ललितपुरस्थित होटल रोयल टुलिप मा मंगलबारदेखि सुरु भएको उक्त कार्यक्रम बुधबारसम्म सञ्चालन हुनेछ । कार्यक्रममा प्रत्यक्षतर्फका १२५ र समानुपातिकतर्फका ५७ गरी कुल १८२ सांसद सहभागी छन् ।
निर्वाचन सम्पन्न भएसँगै संसदीय गतिविधि, कानुन निर्माण प्रक्रिया र पार्टीको नीतिगत दृष्टिकोणमा एकरूपता ल्याउने उद्देश्यसहित प्रशिक्षण आयोजना गरिएको हो । कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह लगायत शीर्ष नेताहरूको सहभागिता रहेको छ ।
रास्वपाले प्रशिक्षण अवधिभर कडा आचारसंहिता लागू गरेको छ । महामन्त्री कबिन्द्र बुर्लाकोटीले जारी गरेको निर्देशनअनुसार कार्यक्रम हलभित्र मोबाइल फोन प्रयोग र फोटो खिच्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । साथै, कार्यक्रम स्थलमा परिवारका सदस्य, साथी वा अन्य पाहुनालाई भेट्न तथा आमन्त्रण गर्न पनि रोक लगाइएको छ । सांसदहरूलाई पूर्ण एकाग्रताका साथ प्रशिक्षणमा सहभागी गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको पार्टीले जनाएको छ ।
प्रशिक्षण विभाग प्रमुख विपिन आचार्य र कानुन विभाग प्रमुख सोबिता गौतमका अनुसार पहिलो दिन संसदीय भूमिका, कानुन निर्माण प्रक्रिया र संवैधानिक जिम्मेवारीबारे जानकारी दिइनेछ । दोस्रो दिन योजना तर्जुमा, बजेट निर्माण, सुशासन र जिम्मेवार राजनीतिक संस्कारका विषयमा प्रशिक्षण दिइने कार्यतालिका रहेको छ ।
प्रवक्ता मनिष झाका अनुसार संसदीय अभ्यासका जानकार, संविधानविद्, अर्थविद् तथा परराष्ट्रविद्हरूलाई प्रशिक्षणका लागि आमन्त्रित गरिएको छ । विशेष गरी पहिलो पटक संसद् प्रवेश गरेका सांसदहरूलाई जनमतसँग गरिएको ‘करार’ र पार्टीको बाचापत्रअनुसार प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा स्पष्ट पारिनेछ ।
कार्यक्रमको उद्घाटन वरिष्ठ नेता तथा उपसभापतिले गर्नेछन् भने समापन समारोहमा सभापति रवि लामिछाने ले विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । रास्वपाले यस अभिमुखीकरणमार्फत सांसदहरूबीच समान बुझाइ कायम गर्दै संसदीय भूमिकालाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update