२९ फाल्गुण, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
उपचारका क्रममा भक्तपुरको गठ्ठाघरस्थित नेपाल-कोरिया मैत्री अस्पतालमा निधन भएका ओलीको पार्थिव शरीरलाई पशुपति पुर्याइएको थियो, जहाँ पुत्र केपी शर्मा ओलीले उहाँलाई मुखाग्नि दिनुभयो । अन्तिम बिदाइका क्रममा आर्यघाटमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, कार्यकर्ताहरू, आफन्त र सुभेच्छुकहरूको ठूलो उपस्थिति रहेको थियो ।
मोहनप्रसाद ओली केही समयदेखि गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आउनुभएको थियो । गएराति स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई तत्काल अस्पताल भर्ना गरिएको भए पनि उपचारकै क्रममा उहाँको प्राण पखेरु उडेको सचिवालयले जनाएको छ । उहाँको निधनको खबर पाएलगत्तै अस्पताल परिसरमा श्रद्धाञ्जली अर्पण गर्नेहरूको भीड लागेको थियो। मुलुकको राजनीतिमा प्रभावशाली व्यक्तित्वका पिताका रूपमा उहाँलाई एक सरल र आत्मीय अभिभावकका रूपमा चिनिन्थ्यो ।
आफ्नो जीवनको उत्तराद्र्धमा उहाँले केही दुःखद राजनीतिक र सामाजिक घटनाक्रमको सामना समेत गर्नुभयो । विशेषगरी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा झापास्थित उहाँको घरमा आगजनी भएपछि उहाँ मानसिक रूपमा विक्षिप्त बन्नुभएको थियो । उक्त घटनापछि उहाँ आफ्नो गृहजिल्ला झापा फर्कनुभएन र काठमाडौँमै छोरीको रेखदेखमा बस्दै आउनुभएको थियो ।



