पर्सा, २७ फागुन। पर्सा जिल्लामा ग्यास, पेट्रोल र डिजेलको अभाव नरहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले अनावश्यक हल्ला नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार नेपाल आयल निगम तथा ग्यास विक्रेता संघले उपलब्ध गराएको अनुसार जिल्लामा इन्धन तथा ग्यासको पर्याप्त मौज्दात रहेको छ। ग्यास, डिजेल र पेट्रोलको आयात नियमित रूपमा भइरहेकाले तत्काल कुनै अभाव नहुने प्रशासनले जनाएको छ।
पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलको अध्यक्षतामा मंगलबार बसेको सरोकारवालाको बैठकले इन्धन तथा ग्यासको कृत्रिम अभाव सिर्जना हुने गतिविधि हुन नदिन बजार अनुगमन र निगरानी कडा बनाउने निर्णय गरेको छ।
बैठकले सर्वसाधारण तथा व्यवसायीलाई अनावश्यक रूपमा ग्यास, डिजेल र पेट्रोल भण्डारण नगर्न र बजारमा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। साथै डिजेल र पेट्रोलको ग्यालन, ड्रम जस्ता भाँडामा खुला बिक्री वितरण नगर्न पनि निर्देशन दिइएको छ।
त्यसैगरी ग्यास डिलरहरूले बिक्री वितरण गरेका उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बर सहितको विवरण दैनिक रूपमा ग्यास उद्योगमा उपलब्ध गराउने निर्णय गरिएको छ। ग्यास उद्योगहरूले पनि आफ्ना डिलरहरूलाई बिक्री गरिएको ग्यास सिलिन्डरको परिमाणसहितको विवरण दैनिक रूपमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज तथा नेपाल आयल निगम शाखा कार्यालय पर्सालाई इमेलमार्फत अनिवार्य जानकारी गराउने निर्णय भएको छ।
बैठकमा नेपाल आयल निगम, ग्यास उद्योग, ग्यास डिलर तथा उद्योग–व्यापार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।



