Birgunj News24
वीरगन्जमा रगतको चरम अभाव, इमरजेन्सी बिरामीसमेत समस्यामा।

वीरगन्ज। वीरगन्जमा अहिले रगतको चरम अभाव देखिएको छ। वीरगन्ज रक्तसञ्चार केन्द्र (ब्लड बैंक) मा आवश्यक रगत नपाइएपछि बिरामी र उनीहरूका आफन्तहरू निकै समस्यामा परेका छन्।
इमरजेन्सी अवस्थाका बिरामीका लागि समेत रगत उपलब्ध नभएपछि अस्पताल परिसरमा चिन्ता र त्रासको अवस्था देखिएको छ। उपचारका लागि आएका बिरामीका आफन्तहरू आफैं रगत खोज्दै धाइरहेका छन्।
नारायणी अस्पतालमा उपचार गराइरहेका विश्रामपुरका नुरालम देवानले इमरजेन्सी अवस्थाका बिरामीका लागि समेत रगत नपाएको गुनासो गरे। उनका अनुसार उनकी भाउजुको आज अस्पतालमा अप्रेसन गर्ने तयारी थियो।
अप्रेसनको तयारीका क्रममा ब्लड बैंकबाट रगत लिन जाँदा त्यहाँ रगत नभएको जानकारी दिइएको उनले बताए।
“अप्रेशन गर्नुपर्ने बेला रगत लिन ब्लड बैंक पुग्दा रगत छैन भनियो, त्यसपछि आफैं व्यवस्था गर्न भनियो,” उनले भने।
यसैबीच नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका प्रशासन प्रमुख बिरशम्सेर पटेलले पनि वीरगन्जमा अहिले रगतको अभाव भएको स्वीकारेका छन्।
उनका अनुसार पछिल्लो समय चुनाव, होली लगायतका पर्व तथा लगातारको बिदाका कारण नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन हुन नसक्दा रगत संकलन घटेको हो।
पटेलका अनुसार वीरगन्जमा दैनिक रूपमा करिब ६० देखि ७० पोका रगतको माग हुने गर्दछ। तर संकलन अत्यन्तै कम भएपछि अहिले ब्लड बैंक लगभग रित्तो जस्तै अवस्थामा पुगेको छ।
रगत अभावका कारण अस्पतालमा उपचाररत बिरामी र उनीहरूका आफन्तहरू आफैं रगत खोज्दै दौडधुप गर्न बाध्य भएका छन्।
समयमै रगत उपलब्ध नहुँदा इमरजेन्सी बिरामीको उपचार नै प्रभावित हुन सक्ने भन्दै चिकित्सकहरूले समेत चिन्ता व्यक्त गरेका छन्।
स्वास्थ्यकर्मीहरूले तत्काल रक्तदान कार्यक्रम सञ्चालन गरी रगत संकलन बढाउन नसकिए वीरगन्जमा रगत अभावको संकट अझ गम्भीर बन्न सक्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update