फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले मधेश प्रदेश सँग भारत जोडिएका सम्पूर्ण सीमा नाकाहरू ७२ घण्टाका लागि बन्द गरिने भएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल–भारत दुवै देशका सुरक्षा निकायबीच समन्वय गरी यस्तो निर्णय गरिएको हो।
मधेश प्रदेश प्रहरी कार्यालय का प्रमुख डिआइजी गोविन्द थपलिया ले जानकारी दिएअनुसार फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्म मधेश प्रदेशबाट भारततर्फ जोडिएका सबै आधिकारिक तथा अनौपचारिक नाका पूर्ण रूपमा सिल गरिनेछ।
प्रदेशका आठवटै जिल्लामा रहेका जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा सीमा बन्द गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। भारतीय सुरक्षा निकायसँग आवश्यक समन्वय भइसकेको र तोकिएको अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका आवतजावतमा रोक लगाइने डिआइजी थपलियाले स्पष्ट पारे।
प्रहरीका अनुसार खुला सीमाका कारण निर्वाचन अवधिमा अवाञ्छित गतिविधि हुन सक्ने जोखिमलाई न्यून गर्न यो कदम चालिएको हो। सीमा क्षेत्रमा थप जनशक्ति परिचालन, संयुक्त गस्ती तथा निगरानीसमेत बढाइने जनाइएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सीमामा कडाइ गरिएको सुरक्षा निकायको भनाइ छ। तोकिएको अवधिमा अनावश्यक यात्रा नगर्न तथा सुरक्षा निकायलाई सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरिएको छ।



